
५१
Shares
काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले विभिन्न ६ किसिमका परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था गरेको जनाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र नभएको अवस्थामा पनि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिनेछ।
आयोगले प्रत्येक मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको जनाएको छ। साथै, शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष सहजीकरणको प्रबन्ध मिलाइएको छ।
घिमिरेले यस्ता मतदातालाई लाइनमा बस्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको जानकारी दिँदै भने, “उनीहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।”






