







१२४
Shares
काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ। यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।



आयोगले सवारीसाधन सञ्चालनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ। आयोगले नेपाल सरकारलाई सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास नचाहिने व्यवस्था मिलाउन सिफारिस गरेको उल्लेख गरेको छ।
आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक पर्ने छैन। दूरसञ्चार सेवा, खानेपानी, विद्युत् तथा ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन र अस्पताल सेवाका सवारीसाधन (चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घर–अस्पताल आवतजावत गराउने)लाई पनि पास नचाहिने जनाइएको छ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) लाई समेत पास आवश्यक नपर्ने स्पष्ट पारिएको छ।
त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शिशु बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता तथा उनीहरूका एक जना सहयोगी बोकेका सवारीसाधन निर्वाध सञ्चालन हुन सक्नेछन्।
नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमनका लागि प्रयोग हुने सवारीसाधन तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि सहज रूपमा सञ्चालन गर्न सकिने जनाइएको छ।
यसैगरी, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क आयोग परिसरमा स्थापना गरिएको छ। उक्त डेस्कबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी गरिनुपर्ने सवारी पाससमेत वितरण भइरहेको आयोगले जनाएको छ।






