FLASH NEWS

प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख भन्दा बढि सुरक्षाकर्मी परिचालान

  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ फागुन १५, शुक्रबार (१ दिन अघि)
  • ४७

    Shares

प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख भन्दा बढि सुरक्षाकर्मी परिचालान

काठमाडौंः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा मतदान सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो।

परिचालन गरिएका सुरक्षाकर्मीमध्ये नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना रहेका छन्।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले हालसम्म मुलुकभर शान्ति सुरक्षाको अवस्थामा शंका गर्नुपर्ने कुनै अवस्था नरहेको बताएका छन्।

आयोगले समय–समयमा सुरक्षा निकायका प्रमुखहरूसँग देशभरको सुरक्षा अवस्थाबारे जानकारी लिइरहेको उल्लेख गर्दै हालसम्म कुनै सुरक्षा चुनौतीसम्बन्धी रिपोर्ट प्राप्त नभएको जानकारी दिएको छ। साथै, निर्वाचनको वातावरण निर्माण गर्न तथा सबैलाई सुरक्षित भएको अनुभूति गराउन विगतको तुलनामा केही अगावै सेना परिचालन गर्ने निर्णय गरिएको पनि स्पष्ट पारिएको छ।

विगतका निर्वाचनमा सेना परिचालन भए पनि तेस्रो घेरामा राख्दा सुरक्षा प्रभावकारी हुन नसकेको भन्ने राजनीतिक दलहरूको सुझाव आएकाले आवश्यक परे पहिलो घेरामै राख्न सकिने गरी परिचालनको मोडालिटी तय गरिएको जनाइएको छ।

निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा नेपाली सेना प्रयोग गर्ने सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस