
१९
Shares
काठमाडौँ : निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्रसहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कार्यलाई तीव्र बनाएको छ। हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ।
अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानी भइरहेको आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (FPTP) र समानुपातिक (PR) निर्वाचन प्रणालीका मतपत्र छपाइ कार्य यसअघि नै सम्पन्न भइसकेको छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ।
आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो। त्यसपछि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा ढुवानी गरिएको थियो। वागमतीसहित अन्य प्रदेशमा पनि ढुवानी कार्य जारी रहेको छ। राजधानी काठमाडौँभित्रका मतदान केन्द्रमा समेत केही दिनभित्र मतपत्र पुर्याइने आयोगले जनाएको छ।
मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी भने सम्पन्न भइसकेको आयोगले उल्लेख गरेको छ। निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ।
मतपत्र छपाइतर्फ आयोगले तोकेको कार्यतालिका अनुसार सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गत पुस २२ गतेदेखि मतदाता शिक्षा प्रयोजनका लागि नमूना मतपत्र छपाइ सुरु गरिएको थियो। आयोगले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेको थियो।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु भई माघ १३ गतेसम्म सम्पन्न गरिएको थियो। समानुपातिक प्रणालीअन्तर्गत दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ।






