
६८
Shares
धादिङ : ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ को अवसर पारेर नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।



सहकारीको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै संस्थाको प्राङ्गणमै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, धादिङको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममार्फत् ७८ जना सहभागीहरूले स्वेच्छिक रूपमा आफ्नो अमूल्य रगत दान गरेका थिए।
“रक्तदान नै जीवनदान हो” भन्ने सन्देशलाई आत्मसात गर्दै सहभागीहरूले मानव सेवामा योगदान दिन पाएकोमा खुशी व्यक्त गरेका थिए।
कार्यक्रमका क्रममा आयोजक संस्थाका प्रतिनिधिहरूले रक्त अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था न्यूनीकरण गर्न यस्ता अभियानहरू अत्यन्तै महत्वपूर्ण हुने बताएका छन।
साथै, सहकारी संस्थाहरू केवल आर्थिक गतिविधिमा मात्र सीमित नभई सामाजिक तथा मानवीय सेवामा पनि अग्रसर रहनुपर्नेमा जोड दिँदै भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यस किसिमका कार्यक्रमहरूले समाजमा सहकार्य, मानवता र सेवाभावको भावना विकास गर्न टेवा पुर्याउने विश्वास लिइएको छ।







