
४६
Shares
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ।



मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरेका हुन्।
प्रतिनिधिसभाको पहिलो बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन्।
त्यसपछि राष्ट्रपतिले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ। साथै, शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि जानकारी प्रस्तुत गरिनेछ।
त्यसपश्चात्, सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही सञ्चालन गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ।
नियमावलीअनुसार सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्नुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार केसीले केही सांसदहरूलाई मनोनयन गर्नेछन्।
त्यसपछि अधिवेशन आरम्भ भएको अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको बैठकले उक्त कार्यसूची निर्धारण गरेको हो।
बुधबार बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति पनि तय गरेको छ। सोअनुसार आगामी आइतबार सभामुखको निर्वाचन हुनेछ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख निर्वाचनको कार्यतालिका आजै सार्वजनिक गरिनेछ। संविधानअनुसार, निर्वाचनपछिको पहिलो अधिवेशन सुरु भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।
संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने तथा दुवै फरक-फरक राजनीतिक दलबाट हुनुपर्ने व्यवस्था रहेको छ।






