काठमाडौं : चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ।
जनविश्वासअनुसार टुँडिखेल को पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने गुरुमापा नामक राक्षसले सहरका बालबालिकालाई खाने गर्थ्यो। पीडित स्थानीयवासीले विभिन्न उपाय अपनाई त्यसलाई संहार गरे। तर राक्षसको प्रेतात्मा पुनः जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने डर कायमै रह्यो।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाई गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने परम्परा बसालिएको हो। साथै सहरका बालबालिकाको सुरक्षाका लागि आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि छ। यसो गरेपछि वर्षभरि बालबालिकालाई कुनै अनिष्ट नहुने विश्वास गरिन्छ।
नेपाली सेनाद्वारा आजै टुँडिखेल मा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरिन्छ। घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा विशेष आकर्षणका रूपमा रहेको छ।
यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।












































