
१८७
Shares
थाक्रे : धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ९ मा निःशुल्क नसर्ने रोग पहिचान शिविर सम्पन्न भएको छ। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा कार्यालय भवनमा मंगलबार सञ्चालन गरिएको उक्त शिविरबाट १५० जनाले स्वास्थ्य सेवा लिएका हुन् ।




नसर्ने रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै यस्ता रोगको समयमै पहिचान र नियन्त्रणका लागि शिविर आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा नियमित स्वास्थ्य परीक्षणको पहुँच कम हुने भएकाले यस्ता कार्यक्रमले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको बताइएको छ।
शिविरमा सहभागी भएका सेवाग्राहीहरूको मधुमेह (सुगर) परीक्षण, उच्च रक्तचाप जाँच, मिर्गौला सम्बन्धी समस्याको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात (बीएमआई) पनि मापन गरिएको थियो। स्वास्थ्यकर्मीहरूले परीक्षणसँगै आवश्यक परामर्श समेत प्रदान गरेका थिए।
कार्यक्रम मंगलबार बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन भएको थियो। शिविरमा स्थानीयको उत्साहजनक सहभागिता देखिएको र यस्ता कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य सचेतना बढाउन सहयोग पुगेको आयोजकको भनाइ छ।







