FLASH NEWS

धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा विस्तारका लागि सम्झौता

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र ३, मंगलबार (५ दिन अघि)
  • ९१

    Shares

धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा विस्तारका लागि सम्झौता

धादिङ: धादिङ अस्पताल र त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा विस्तार तथा सहकार्यका लागि सम्झौता गरिएको छ। स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बागमती प्रदेश अन्तर्गत रहेको धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार अब धादिङ अस्पतालका विशेषज्ञ (कन्सल्टेन्ट) चिकित्सकहरू प्रत्येक महिना सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। यस व्यवस्थाबाट स्थानीय नागरिकले टाढा अस्पताल धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ। कन्सल्टेन्ट चिकित्सकहरूको सेवा भने प्राथमिक स्वास्थ्य केन्द्रको आवश्यकता र धादिङ अस्पतालको उपलब्धताका आधारमा निर्धारण गरिने जनाइएको छ।

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएका प्रयोगशाला परीक्षणहरू—रगत, दिसा, पिसाब, खकार लगायतका विभिन्न परीक्षणहरू धादिङ अस्पतालमै गरिने व्यवस्था मिलाइनेछ। ती परीक्षणको रिपोर्ट इमेलमार्फत सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइने र परीक्षण वापतको रकम प्राथमिक स्वास्थ्य केन्द्रले धादिङ अस्पताललाई उपलब्ध गराउने सहमति गरिएको छ।

यो सहकार्यबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षमता थप मजबुत हुने विश्वास गरिएको छ। साथै स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ दुई संस्थाबीच सहकार्यलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताइएको छ।

सम्झौतापत्रमा धादिङ अस्पतालका तर्फबाट अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटा तथा निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले हस्ताक्षर गरेका छन्। त्यसैगरी सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रका तर्फबाट सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर खत्री र कार्यालय प्रमुख डा. मञ्जिल श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ।

यस सहकार्यले सल्यानटार तथा आसपासका क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै प्राप्त हुने, समय र खर्चको बचत हुने तथा स्वास्थ्य सेवामा सहज पहुँच बढ्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले पनि यस पहललाई सकारात्मक रूपमा लिँदै यसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस