
५५
Shares
काठमाडौं : आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ।
निर्वाचन आयोग नेपाल का अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइ मात्र बाँकी रहेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र मा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ।
आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छापिइसकेको सहायक प्रवक्ता प्रकाश न्यौपाने ले जानकारी दिनुभयो। अब काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको उहाँको भनाइ छ।
तीन दिनभित्र बाँकी मतपत्र छपाइ सकिने अनुमान गरिएको छ। छापिएका जिल्लाका मतपत्र प्याकिङसमेत सम्पन्न भइसकेका छन्। हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
छपाइ सम्पन्न भएका मतपत्र आजैदेखि आयोगले कर्णाली प्रदेश का १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ। ती जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो।






