
१४७
Shares
सञ्चारकर्मी :राजाराम डंगोल
बाहिरबाट हेर्दा रेडियोमा काम गर्नु सजिलो र निकै आकर्षक देखिन्छ। माइक्रोफोन अगाडि बसेर बोल्नु, गीत बजाउनु, कार्यक्रम सञ्चालन गर्नु—सबै कुरा रमाइलो र सहज जस्तो लाग्छ। तर त्यो आवाजभित्र कति संघर्ष लुकेको हुन्छ, त्यो धेरैलाई थाहा हुँदैन।



करिब १३/१४ वर्ष भयो, रेडियोको यात्रा सुरु गरेको। सुरुका दिनहरूमा उत्साह थियो, सपना थियो—तर आम्दानी थिएन। धेरै समय त स्वयंसेवी (भोलिन्टियर) रूपमा काम गर्नुपर्यो। पारिश्रमिक नभएपनि “अन–एयर” हुन पाउनु नै ठूलो उपलब्धि ठान्थेँ। घरपरिवारले “कति कमाइ हुन्छ?” भनेर सोध्दा जवाफ दिन गाह्रो हुन्थ्यो। तर मनभित्र सधैँ एउटा विश्वास थियो—“एक दिन मेहनतको (फल )मूल्य पक्कै पाइन्छ।”
आर्थिक रूपमा सबल हुन नसक्दा धेरै कुरा त्याग्नुपर्यो। साथीहरू स्थिर जागिरमा अघि बढ्दै गए, तर म भने माइक्रोफोनसँगै संघर्ष गरिरहेँ। कहिलेकाहीँ आफ्नै खर्च धान्न गाह्रो हुन्थ्यो। यातायात खर्च जुटाउनै समस्या पर्थ्यो। तर पनि समयमै स्टेशन पुग्नुपर्थ्यो—किनकि कार्यक्रम रोकिँदैनथ्यो, आवाज बन्द हुँदैनथ्यो।
रेडियोमा काम भनेको केवल बोल्नु मात्र होइन। स्क्रिप्ट आफैँ लेख्नु, समाचार संकलन गर्नु, सम्पादन गर्नु, प्राविधिक समस्या समाधान गर्नु—कार्यालय सहयोगीदेखि हाकिमसम्मको भूमिका एउटै व्यक्तिले निर्वाह गर्नुपर्ने अवस्था पनि रहयो । प्रत्यक्ष प्रसारणका बेला उपकरण बिग्रिँदा पसिना छुट्थ्यो, तर श्रोताले त्यो तनाव कहिल्यै थाहा पाउँदैनथे। उनीहरूले सधैँ सुनेको त आत्मविश्वासपूर्ण आवाज मात्र हो।
कतिपय दिन मन निकै निराश हुन्थ्यो। लाग्थ्यो—अब छोडिदिऊँ कि? तर जब कुनै अञ्जान श्रोताले फोन गरेर भन्थे, “तपाईंको कार्यक्रमले हाम्रो दिन राम्रो बनाइदिन्छ,” त्यही एउटा वाक्यले सबै थकान हटाइदिन्थ्यो। त्यो माया नै मेरो लागि अहिलेसम्मको सबैभन्दा ठूलो पारिश्रमिक बनेको छ।
रेडियोले मलाई आर्थिक रूपमा धनी नबनाएको होला, तर अनुभव, आत्मविश्वास र सम्बन्धमा भने धनी बनायो। यसले धैर्यता सिकायो, आत्मसम्मान सिकायो, संघर्षसँग जुध्न सिकायो।
तर यथार्थ के हो भने—सबै कुरा अन्ततः आर्थिक अवस्थासँग जोडिँदो रहेछ। सामुदायिक रेडियोमा काम गर्ने म मात्र होइन, मजस्ता धेरै सञ्चारकर्मीहरूले आफ्नै जीवनका लागि ठोस आर्थिक उपलब्धि हासिल गर्न सकेका छैनौँ। न्यूनतम पारिश्रमिकसमेत पाउन नसक्ने अवस्था छ, र यो कुरा खुल्ला रूपमा भन्न पनि सकिँदैन।
आज रेडियो क्षेत्रमा प्रविधिले ठूलो फड्को मारेको छ। आधुनिक उपकरण आएका छन्। स्टुडियो आकर्षक बनेका छन्। हामी पनि गर्वका साथ भन्छौँ—“हाम्रो सञ्चारगृह अब आधुनिक छ।” तर त्यही अनुपातमा त्यहाँ काम गर्ने सञ्चारकर्मीहरूको जीवनस्तर उकास्न सकेका छौँ त?
यदि प्रविधिसँगै सञ्चारकर्मीको जीवनस्तर पनि उकास्न सकियो भने मात्रै विश्व रेडियो दिवस मनाउनुको वास्तविक अर्थ पूरा होला। त्यतिबेला मात्र गर्वका साथ भन्न सकिएला—“मेरो सञ्चारगृह साँच्चै समृद्ध छ।”






