
४४
Shares
धादिङ: धादिङ जिल्लाको दिगो विकास र आर्थिक सुदृढीकरणलाई केन्द्रमा राख्दै दशौँ धादिङ महोत्सव धादिङबेसी खुल्ला मञ्चमा जारी रहेको छ। “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित माघ १५ गतेदेखि सुरु भएको महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ।



आज माघ १७ गते महोत्सवमा शान्ति श्री परियार, विष्णु खत्री, मनमाया वाइवा, देव आले, सिता केसी, सञ्जु लामा लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ।
जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणको मागसहित हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको छ। साथै भैरवी मन्दिरको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै स्थानीय उत्पादन समेटिएका स्टलहरू राखिएको आयोजकको भनाइ छ।
महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास तथा जिल्लाको समग्र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।






