
४१
Shares
धादिङ: “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ दशौँ धादिङ महोत्सव–२०८२ आजदेखि धादिङबेसीमा सुरु हुँदैछ। स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि तथा पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको यो महोत्सव आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ।



महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। आज उद्घाटन हुने महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन कार्यक्रमअघि धादिङबेसी बजार क्षेत्रमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा र भेषभूषासहित बजार परिक्रमा गरिने छ। यसले जिल्लाको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै महोत्सवप्रति आम नागरिकको चासो र सहभागिता बढाउने विश्वास गरिएको छ।
महोत्सव अवधिभर कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न व्यापारिक तथा औद्योगिक स्टल, बालबालिका तथा परिवारका लागि मनोरञ्जनात्मक मेला सञ्चालन गरिनेछ। साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा गीत–नृत्यसहितका विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।
यसैगरी निलकण्ठ नगरपालिका–६, सुनौला बजारमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचार–प्रसार र प्रवर्द्धनलाई पनि महोत्सवको मुख्य आकर्षणका रूपमा समेटिएको छ। धार्मिक पर्यटनको विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य यसमा रहेको आयोजकको भनाइ छ।
धादिङ जिल्लाको कृषि, पर्यटन, जलस्रोत र स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको यस महोत्सव अवलोकनका लागि आयोजकले सम्पूर्ण जिल्लावासी तथा बाहिरका आगन्तुकहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।






