FLASH NEWS

धादिङको दीगो विकास लक्ष्यसहित दशौं धादिङ महोत्सव २०८२ आयोजना हुँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ३, शनिबार (४ घण्टा अघि)
  • २२

    Shares

धादिङको दीगो विकास लक्ष्यसहित दशौं धादिङ महोत्सव २०८२ आयोजना हुँदै

धादिङ :   धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा दशौं धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ।

महोत्सव आगामी माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेसीको खुल्ला मञ्चमा सञ्चालन हुनेछ।
नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा आयोजना हुने महोत्सवको मूल नारा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” रहेको छ।

आयोजकका अनुसार महोत्सवमा एक लाखभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ भने करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमार्फत जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ।

यसले धादिङको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताउनु भयो।

महोत्सवमा १६० भन्दा बढी स्टल रहनेछन्। जसमा १०० व्यावसायिक, २० घरेलु तथा साना उद्योग, र ४० कृषि तथा अन्य उत्पादनका स्टल समावेश गरिनेछ। यसले जिल्लामा उत्पादित कृषि, घरेलु तथा औद्योगिक वस्तुको बजारीकरणमा टेवा पुग्ने विश्वास आयोजकको छ।

महोत्सवका मुख्य आकर्षणहरूमा कृषि उपज तथा घरेलु उत्पादनको प्रदर्शनी एवं प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन, भैरवी मन्दिर केन्द्रित पर्यटन प्रवर्द्धन कार्यक्रम, स्थानीय तहका विशेष उत्पादन स्टल, कृषि, पशुसेवा तथा वन कार्यालयबाट परामर्श सेवा, स्थानीय परिकार र संस्कृतिको प्रस्तुति, बाल उद्यान तथा मनोरञ्जनात्मक मेला रहेका छन्। साथै, राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा दैनिक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। समितिको संयोजकमा अध्यक्ष डल्लाकोटी र सह–संयोजकमा वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी रहनुभएको छ। त्यस्तै, ५१ सदस्यीय सल्लाहकार समिति, २५ सदस्यीय सचिवालय समिति तथा २४ वटा विषयगत समिति गठन गरिएको जानकारी धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले दिनुभयो।

आयोजकले दशौं धादिङ महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन सबै सरोकारवाला निकाय, सञ्चारकर्मी तथा सर्वसाधारणसँग सहयोग र सहभागिताको अपिल गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस