FLASH NEWS

बेनिघाट रोराङ ७ को बुद्धी विकास आधारभूत विद्यालयमा ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष १०, बिहिबार (१ घण्टा अघि)
  • ७७

    Shares

बेनिघाट रोराङ ७ को बुद्धी विकास आधारभूत विद्यालयमा ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङ:    धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौदीमा अवस्थित बुद्धी विकास आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण गरिएको छ। धादिङ–मकवानपुर शैक्षिक सहयोग (भक्तपुर) को पहलमा उक्त विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो। जाडो मौसमको समयमा न्यानो कपडाको अभावले विद्यार्थीहरूको पठन–पाठनमा असर नपरोस् भन्ने उद्देश्यले सहयोग कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा समूहका संयोजक किरण शर्मासहितको टोलीले विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गरेको थियो। सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहँदै आएको उक्त टोलीले आर्थिक अवस्था कमजोर भएका, शैक्षिक सामग्री तथा कपडा किन्न असमर्थ विद्यार्थी तथा असहाय परिवारहरूलाई लक्षित गरी निरन्तर सहयोग गर्दै आइरहेको छ।

कार्यक्रमको अवसरमा विद्यालय परिवारले धादिङ–मकवानपुर शैक्षिक सहयोग समूहलाई विद्यालयमै उपस्थित भई यति ठूलो र महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्दै सम्मानसमेत गरेको थियो। विद्यालय व्यवस्थापन समितिले यस्ता सहयोगले विद्यार्थीहरूमा पढाइप्रति उत्साह बढ्ने र विद्यालय नियमित आउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै संयोजक किरण शर्माले एक्लो प्रयासले मात्र यस्ता सामाजिक कार्य सम्भव नहुने बताउँदै, विभिन्न सहयोगी मनहरूबाट प्राप्त भएका स–साना रकम संकलन गरेर आवश्यक सामग्री खरिद तथा वितरण गर्दै आएको जानकारी दिनुभयो। उहाँले सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद व्यक्त गर्दै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। साथै, उहाँले समाजमा रहेका सहयोगी मनहरूलाई यस्ता मानवीय कार्यमा जोडिन आग्रह गर्दै, सबैको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस