
८७
Shares
धादिङ : धादिङको गल्छी गाउँपालिका–६ मा अवस्थित बैरेनी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २९ औँ स्थापना दिवस बुधबार विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।



स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीको आर्थिक अवस्था, हालसम्मका उपलब्धि तथा भावी योजनाबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा सहकारिका प्रबन्धक रामजी खतिवडाले
सहकारीमा २०८२ कात्तिक मसान्तसम्म भए गरेका कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।साथै प्रबन्धक खतिवडाले सहकारीको स्थायित्व र विश्वसनीयताका लागि पारदर्शी व्यवस्थापनलाई प्राथमिकता दिइएको बताउँदै आगामी दिनमा किसान लक्षित थप नवीन कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
उहाँले साना किसान सहकारीको मूल उद्देश्य किसानलाई आर्थिक रूपमा सक्षम बनाउँदै आत्मनिर्भर कृषिमा जोड दिनु रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले साना किसान सहकारी किसानहरूको लागि आशा, भरोसा र विश्वासको केन्द्रका रूपमा स्थापित भएको बताउनुभयो।
उहाँले किसानमैत्री संस्थाका रूपमा साना किसान सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै अन्य संस्थाको तुलनामा साना किसान सहकारी बढी विश्वसनीय भएकाले किसानहरू यसैमा आबद्ध हुनुपर्ने धारणा राख्नुभयो।
साथै स्थानीय सरकार र साना किसान सहकारी एक–अर्काका परिपूरक भएकाले गाउँपालिकाले सहकारीमार्फत किसानका हितमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका सभा अध्यक्ष तथा सहकारीका अध्यक्ष बद्री प्रसाद अधिकारीले सहकारीको हालसम्मको यात्रा, उपलब्धि र आगामी योजनाबारे प्रकाश पार्नुभयो। आफू अध्यक्ष बनेपछि किसानको हकहितलाई केन्द्रमा राखेर विभिन्न नयाँ र उत्पादनमुखी कार्यक्रमहरू सुरु गरिएको उहाँको भनाइ थियो। बीउ पुँजीका रूपमा बाख्रा वितरण, कृषि उत्पादन वृद्धि गर्ने कार्यक्रम तथा किसानको आम्दानी बढाउने योजनाहरू साना किसान सहकारीले निरन्तर रूपमा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।
साथै उहाले संस्थाले प्रत्येक बर्ष स्थापना दिवसको दिन हरेक अन्तर समुहबाट १ जनाका दरले विपन्न सदस्य छनौट गरि बीउ पुँजी बितरण गर्ने गरेको बताउनु भयो । २९औं स्थापना दिवसको दिनमा पनि अन्तर समूहबाट ११ जना छनौट हुनु भएका सदस्यहरुलाई बीउ पुँजी स्वरुप बाख्रा हस्तान्तरण गरेको बताउनु भयो।
अध्यक्ष अधिकारीले सहकारीलाई यहाँसम्म ल्याइपुर्याउन योगदान गर्ने सम्पूर्ण शेयर सदस्य, कर्मचारी, स्थानीय सरकार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै आगामी दिनमा बैरेनी साना किसान कृषि सहकारीलाई देशकै नमुना साना किसान सहकारीको रूपमा विकास गर्ने लक्ष्यसहित आफू र आफ्नो टिम निरन्तर लागिपरेको बताउनुभयो।

कार्यक्रममा गल्छी गाउँपालिका वडा नं. चार का वडा अध्यक्ष राजु अधिकारी, संचालक समितिका पदाधिकारी , लेखा सुपरिवेक्षण समितका पदाधिकारी , अन्तर समुहका अध्यक्षहरु, लाभान्वित सदस्यहरु, तथा शेयर सदस्य ,कर्मचारी लगायत्को उपस्थिति रहेको थियो।
स्थापना दिवस कार्यक्रमले सहकारीप्रति सदस्यहरूको विश्वास थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।








