
१३९
Shares
धादिङ : थाक्रे गाउँपालिकाको आयोजनामा एकिकृत सामुदायिक विकास अभियान (ICDC), नेपाल र एक्सनएड नेपालको साझेदारीमा थाक्रे गाउँपालिकामा संचालन भइरहेको स्थानिय अधिकार कार्यक्रम अन्तरगत सार्वजनिक विद्यालयमा अंग्रेजी विषय पढाई रहेका विषय शिक्षकहरुको ५—दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।



तालिम २०८२ साल मंसिर २२ गते देखि २६ गतेसम्म सञ्चालन भएको थियो । यो तालिम अंग्रेजी विषयको सिकाई उपलब्धिमा सुधार ल्याउने र विषयगत शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालन गरिएको हो ।
तालिम न्यू पाथिभरा होटल, धार्केमा भएको थियो । तालिममा ३० जना विषयगत अंग्रेजी शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा मुख्यतया अंग्रेजी विषय पढाउँदा आइपरेका समस्या र समाधान, अंग्रेजी शिक्षण सिकाई विधि, शिक्षण सामग्री तयारी र प्रयोग, कक्षाकोठा व्यावस्थापन, अंग्रेजी विषयको पाठ्यक्रम, सिकाई उपलब्धि, नतिजा विश्लेषण, विशिष्टिकरण तालिका, प्रश्न पत्र निर्माण, उत्तर कुञ्जीका तयारी, उत्तरपुस्तिका परिक्षण आदि विषयबस्तुहरुमा प्रशिक्षण भएको थियो । तालिमकै क्रममा अनिल प्यासी पोखरेलको संयोजकत्व र शिक्षा शाखाको एक जना प्रतिनिधि सदस्य रहने गरी पालिकास्तरिय अंग्रेजी विषयको नौ सदसिय विषयगत समिति पनि गठन भएको छ । समितिले अंग्रेजी विषयको सिकाई उपलब्धि सुधारको लागि कार्यहरु गर्ने छ ।
जस्तै अंग्रेजी शिक्षण सिकाई सामाग्रीहरु पहिचन, शिक्षकको क्षमता अभिबृद्धि, अंग्रेजी विषयको पाठ्यक्रम, विशिष्टिकरण तालिका अनुसार शिक्षण सिकाई गर्न सहजिकरण, प्रश्नपत्र निर्माण, उत्तर कुञ्जीका निर्माणमा सहजिकरण साथै अन्तिम रुप दिने, अदि लगाएतका कार्यहरु गर्ने छ । जसले पालिकाभरी एकरुपता हुने साथै सिकाई उपलब्धिमा सुधार ल्याउन सहयोग पुग्ने छ । तालिमको सहजिकरण काठमाण्डौ विश्वविद्यालयका उपप्राध्यापक खुम प्रसाद घिमिरेले गर्नु भएको थियो । तालिमका सहभागिहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
तालिम समापनको अवसरमा सहभागिको तर्फबाट जयराम रुपाखेती र विष्णु माया श्रेष्ठले आफ्नो भनाई राख्नुभएको थियो । त्यस्तै प्रशिक्षक खुम प्रसाद घिमिरे, एकिकृत सामुदायिक विकास अभियान, नेपालका कार्यक्रम संयोजक उत्तम तिमिल्सिना र थाक्रे गाउँपालिकाको शिक्षा शाखा प्रमुख दुर्गा देवि खड्काले आफ्नो भनाईहरु राख्नु भएको थियो ।
ICDC नेपालले एक्सनएड नेपालको साझेदारीमा सन् २०२२ देखि थाक्रे गाउँपालिकामा स्थानीय अधिकार कार्यक्रम संचालन गर्दै आइरहेको छ । यस कार्यक्रम मार्फत महिला, बालबालिका, साना किसान र अनौपचारिक श्रमिकको क्षेत्र, सार्वजनिक शिक्षाको गुणस्तर सुधार सम्बन्धि क्रियाकलापहरु, विपद जोखिम न्यूनीकरण र जलवायु न्यायको क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।








