
१९८
Shares
काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो।



कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णय अनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनुभएका आयोगका सचिव महादेव पन्थले जिम्मेवारी बहन गर्नु भएको छ।
निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी कार्यरत रहनेछन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।






