१८९
Shares
काठमाडौँ : बडादशैँ अर्थात् शारदीय नवरात्रको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा रहेको छ।



तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ।
कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ। यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।
नवरात्रका अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।
काठमाडौँको गुह्येश्वरी, संकटा, शोभाभगवती, मैतीदेवी, नक्सालभगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती,ललितपुरको बंगलामुखी काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बाँकेको बागेश्वरी, गोरखाको मनकामनालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।








