१८०
Sharesधादिङ, थाक्रे : थाक्रे गाउँपालिका स्थित महादेवबेसीमा प्रहरी चौकी पुनःस्थापना गरिएको छ। चौकी पुनःस्थापनासँगै स्थानीयवासीले अब शान्ति सुरक्षाको वातावरण अझ सहज हुने अपेक्षा व्यक्त गरेका छन्।
शनिबार आयोजित पुनःस्थापना कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी भेसराज रिजाल, राष्ट्रिय अनुसन्धानका एसपी होमकान्त पाण्डे, सशस्त्र प्रहरीका डिएसपी रामेश्वर श्रेष्ठ, गजुरी डिएसपी बिकाश थापा तथा इलाका प्रहरी कार्यालय खानिखोला प्रमुख नन्दराज जोशीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा थाक्रे गाउँपालिका–६ का वडाध्यक्ष हिराबहादुर थापाले स्वागत मन्तव्य दिँदै चौकी सञ्चालनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुरक्षाअधिकारीहरूले पनि चौकी पुनःस्थापना भएकाले यस क्षेत्रको शान्ति सुरक्षा र जनताको सेवामा अझ प्रभावकारी ढंगले काम गर्ने आश्वासन दिएका छन्।
गत साउन २३ र २४ गते भएको आन्दोलनमा प्रहरी थोरै भएकोले असुरक्षित भए पछि इलाका प्रहरी कार्यालयमा बोलाइएको थियो। महादेवबेसी बजारवासीले अहिले चौकी पुनःस्थापनाप्रति स्वागत गर्दै यसले अपराध नियन्त्रण, शान्ति र सुरक्षामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।