१३१
Sharesआज बुबाको मुख हेर्ने दिन,
तर आकाशले पनि आँखा भिजायो
म हेर्न खोज्छु त्यो अनुहार,
जसले बाल्यकाललाई साहारा दियो।
“बुबा, आज तपाईँको मुहार कहाँ हेर्ने?”
तपाईंको काखमा निदाएको याद छ,
तपाईंको हातले काँध थामेको स्पर्श…
आज ती सबै सम्झनाहरू
बनिएका छन् – नदेखिने धागो बनेको छ
तर हृदयसँग गाँसिएको छ।
“बुबा, आज तपाईँको मुहार कहाँ हेर्ने?”
आज फोटोमा हेरें तपाईंलाई –
सधैंझैं मौन, तर धेरै कुरा भन्ने,
त्यो मुस्कान… अझै पनि छ
तर बोल्दैन, जवाफ दिँदैन,
तपाइँ भगवान हुनुहुन्छ
“बुबा… तपाईं सुनिरहनुभएको छ?”
“बुबा, आज तपाईँको मुहार कहाँ हेर्ने?”
तपाईं नभएको घर सुनसान लाग्छ,
तपाईं नहँुदा पनि
म तपाईंभित्रै बाँचिरहेको छु,
मेरो हरेक सफलताको गहिरो पृष्ठभूमिमा
तपाईंको पसिना, तपाईंको सपना बोल्छ।
“बुबा, आज तपाईँको मुहार कहाँ हेर्ने?”
बुबा, आज मुख हेर्ने दिनमा
म तपाईंको अनुहार हेर्न सक्दिन,
तर मनको दैलोमा तपाईँ हुनुहुन्छ –
जति समय बित्छ, उति गहिरो गरी।
“बुबा, आज तपाईँको मुहार कहाँ हेर्ने?”
तपाईंको यादहरूलाई फूल बनाउँछु म,
श्रद्धाका थालोमा राख्छु मौन प्रेम,
किनभने तपाईं मेरो जरा हो,
तपाईं नै मेरो अस्तित्वको प्रेम।
“बुबा, आज तपाईँको मुहार कहाँ हेर्ने?”
आज, बुबा…
मुख हेर्न पाइएन तपाईंको,
तर आत्मा छ तपाईंको मेरो आत्माभित्रै —
अविनाशी, अमर, अनि अत्यन्त प्रिय।
“बुबा, आज तपाईँको मुहार कहाँ हेर्ने?”
राजाराम डंगोल