FLASH NEWS

आज गाईजात्रा, परिवारका दिवंगत सदस्यको सम्झना गरि मनाइदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २५, आईतबार (१ दिन अघि)
  • ३८

    Shares

आज गाईजात्रा, परिवारका दिवंगत सदस्यको सम्झना गरि मनाइदै

काठमाडौं :   उपत्यकासहित देशका विभिन्न स्थानमा आज नेवार समुदायले गाईजात्रा पर्व विविध कार्यक्रमका साथ मनाइरहेका छन्। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने यो पर्वको शुरुवात ऐतिहासिक रूपमा राजा प्रताप मल्लको पालामा भएको मानिन्छ।

राजा प्रताप मल्लले पुत्र वियोगमा शोकाकुल भएकी रानीलाई सान्त्वना दिन जनतालाई एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि व्यङ्ग्यात्मक कार्यक्रमसमेत थपिएपछि यो परम्परा निरन्तर चलिआएको छ।

पाटनमा आज सत्य युगको धान–चामलको नमूना, काठमाडौँको ठमेलमा स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्। भक्तपुरमा परालको गाई (रथ) नगर परिक्रमा गराई आजकै दिन विसर्जन गर्ने परम्परा रहिआएको छ।

गाईजात्रामा दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूप दिई नगर परिक्रमा गराइन्छ। सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र पैसा दान गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यसरी गाईजात्रा निकालेका आफन्तको आत्माले गाईको पुच्छर समातेर वैतर्णी पार गर्छन्।

हालका वर्षहरूमा यो पर्वको अवसर पारेर समाजका विकृति र विसङ्गती उजागर गर्न व्यङ्ग्यात्मक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गर्ने परम्परा बढ्दै गएको छ। काठमाडौं उपत्यका बाहेक धादिङको बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा पनि गाईजात्रा धुमधामका साथ मनाइन्छ। साथै गाईजात्राको आवसरमा बागमती प्रदेशले सार्वजनिक बिदा दिएको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस