८५
Sharesधादिङ: आज देशभर साउन १५ को अवसरमा नेपाली परम्पराअनुसार खीर खाएर पर्व मनाइएको छ। वर्षा ऋतुको मध्य बिन्दुमा पर्ने यो दिनलाई नेपाली समाजमा स्वास्थ्य, परम्परा र आपसी सम्बन्ध सुदृढ पार्ने अवसरका रूपमा लिइन्छ।
असार १५ को दही–च्यूरा पछि आउने साउन १५ मा दूधमा चामल, चिनी, मसला लगायत सामग्री राखेर बनाइने खीर खाएर यो दिन मनाउने प्राचीन चलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार, संस्कृतमा ‘पायस’ भनिने खीर सात्विक आहारको श्रेणीमा पर्ने भएकाले वैदिक परम्परा अनुसार देवकार्य र पितृकार्यमा समेत यसको विशेष प्रयोग हुने गरेको पाइन्छ। “साउन महिनामा खेतीपातीको चटारो कम हुने, गाईभैँसीले धेरै दूध दिने, हरियालीले भरिने भएकाले परम्परागत रूपमा खीर खाएर चाड मनाउने गरिएको हो,” गौतमले बताउनु भयो ।
धार्मिक मान्यताअनुसार साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधजन्य परिकार मन पर्ने भएकाले खीरलाई पनि भक्तिपूर्वक अर्पण गरी खाने परम्परा रहेको जनविश्वास छ।
खीरको विभिन्न प्रकारहरू पनि बनाइने गरिन्छ। चामलको खीर, मकैको खीर, गाजर वा सेवईको खीर, सावधानाको खीर आदिको स्वादिलो परिकार बनाएर घर–घरमा आजको दिन खाइन्छ। साउन महिनामा हरियो मकैको सहज उपलब्धता भएकाले मकैको खीर पनि लोकप्रिय मानिन्छ।
राष्ट्रिय दुग्ध विकास बोर्डले हरेक वर्ष साउन १५ लाई ‘खीर दिवस’ का रूपमा मनाउँदै आएको छ, जसले दुग्धजन्य उत्पादनको प्रचार–प्रसारमा योगदान पुर्याउने उद्देश्य राखेको छ।
नेपाली समाजमा साउन १५ का साथै असार १५ (दही–च्यूरा), भदौ १५ (पोलेको मकै), पुस १५ (घिउ–खट्टे), माघ १५ (मालपुवा) जस्ता मौसमी पर्वहरू परम्परा, खेतीपाती र पारिवारिक सद्भावसँग जोडिएर मनाइँदै आएका छन्।