



















५६९
Shares
धादिङ,धुनिबेशी : धादिङको धुनिबेशी नगरपालिका–८, खानीखोलामा आयोजित रक्तदान कार्यक्रममा १सय १८ जनाले रक्तदान गरेका छन्।



लायन्स क्लब अफ धादिङ पिस खानीखोला र लियो क्लब अफ पिस खानीखोलाको संयुक्त आयोजना तथा सौरब फार्मेसीको प्रायोजनमा शुक्रबार सम्पन्न ‘सौरब बृहत रक्तदान कार्यक्रम’मा १सय १८ जनाले रक्तदान गरेको हो।
“जो–कोही पनि रगत अभावका कारण अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो,” लायन्स क्लब अफ धादिङ पिस खानीखोलाका अध्यक्ष प्रमोद गिरीले टोलटोलको खबर डट कम सँगको कुराकानीमा बताउनुभयो। उहाँका अनुसार क्लबले यसअघि पनि यस्ता रक्तदान कार्यक्रमहरू र अन्य सामाजिक सेवा कार्यहरू गर्दै आएको छ।
कार्यक्रमका प्रायोजक एवं सौरब फार्मेसीका सञ्चालक ऋषि अधिकारीले टोलटोलको खबर सीताको कुराकानीमा भन्नु भयो , “फार्मेसी सञ्चालन गर्दा बाँकी बचतबाट केही सामाजिक सेवा गर्नु मेरो जिम्मेवारी पनि हो भन्ने महसुस गर्दै कार्यक्रम सफल बनाउन सक्दो सहयोग गरेको हुँ।”
लायन प्रदीप कुँवर र लियो सिमान्त पाठकको संयोजकत्वमा सम्पन्न कार्यक्रममा हिमाल हस्पिटल प्रा.लि., काठमाडौंको प्राविधिक सहयोग रहेको थियो। साथै कार्यक्रममा लायन्स तथा लियोका विभिन्न पदाधिकारी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय संघ–संस्था, विद्यार्थी, शिक्षक, र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।








