१६६
Sharesधुनिबेशी, धादिङ : धादिङको धुनिबेशी ८ मा रहेको गणेश मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। मंगलबार इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा धुनिबेशी नगरपालिका–८, चापाकुला (गणेश मार्ग) स्थित गणेश मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको यस सरसफाई अभियानमा स्थानीय युवाहरू, महिलाहरू तथा अन्य समाजसेवीको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा मन्दिर परिसर वरिपरिका फोहोरमैला व्यवस्थापन, झारपात सफा गर्ने, वातावरण संरक्षण तथा सार्वजनिक चेतना अभिवृद्धिका विषयमा पनि छलफल गरिएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रतिनिधिले यस्तो कार्यक्रमले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। स्थानीय बासिन्दाहरूले पनि यस्ता अभियानले स्वच्छ वातावरणको प्रवर्द्धन गर्ने मात्र नभई सामूहिक सहभागिताको भावनालाई समेत मजबुत बनाउने बताएका छन्।
मन्दिर क्षेत्रलाई हराभरा र स्वच्छ राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी आयोजक पक्षले दिएको छ।