५९
Sharesकाठमाडौँ: हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा केही उत्तरतिर रहेकाले देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ।
बागमतीसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही भूभागमा धेरै भारी वर्षा तथा मधेस र तराईका भूभागमा हावाहुरीको पनि सम्भावना छ।
रातिको देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, सुदूरपश्चिम तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्नेछ।
मौसम महाशाखाले भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको भन्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।