८०
Sharesकाठमाडौं: “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…” भन्दै किसान आज हिलोमा रमाइरहेका छन्। असार १५ अर्थात् राष्ट्रिय धान दिवस— खेतमा धान रोपाइँ र दही चिउरा खाएर उल्लासपूर्वक मनाइँदैछ।
किसानका लागि यो दिन केवल खेतीपातीको चटारो मात्र होइन, शरीरलाई ताजगी र शक्तिको स्रोतसमेत हो। दही चिउरा खाँदा शरीरमा शीतलता आउने र ऊर्जा सञ्चय हुने जनविश्वास रहेको छ। नेपाली समाजमा यस दिनलाई ‘दही चिउरा खाने पर्व’ का रूपमा समेत लिने गरिन्छ।
धार्मिक र परम्परागत दृष्टिले पनि दहीको महत्व गहिरो छ। शुभकार्यमा निस्कँदा निधारमा टीका र सगुनस्वरूप दही खुवाउने चलनले यसको सांस्कृतिक मूल्य झल्काउँछ। आयुर्वेद अनुसार पनि दही पाचनका लागि लाभदायक मानिन्छ।
२०६२ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको राष्ट्रिय धान दिवस, कृषिप्रधान देश नेपालमा किसानको महत्व उजागर गर्ने दिनको रूपमा स्थापित भइसकेको छ। आज खेतका गरामा युवा लाठे र युवती रोपाहारहरूले हिलो छ्यापाछ्याप गर्दै, लोकदोहोरी गाउँदै रमाइरहेका छन्।
तर, यसपालि वर्षा ढिला भएकाले कतिपय ठाउँमा रोपाइँ प्रभावित भएको छ। किसानहरूले मलको अभावको गुनासो गरे पनि कृषि मन्त्रालयले पर्याप्त मौज्दात रहेको दाबी गरेको छ।
आजको दिन, श्रम र संस्कृतिको संगमसँगै धानलाई सम्मान गर्ने राष्ट्रिय चाडका रूपमा नेपालीले आत्मसात गर्दै आएका छन्।