६९
Sharesकाठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको स्थिति देखिएको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली तथा अन्यत्र आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका केही स्थानमा आज दिउँसो हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसम पूर्वानुमान अनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा चट्याङसहित वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्नेछ।
मौसम महाशाखाले नदीहरूमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता प्रकोपको सम्भावनालाई ध्यानमा राखी जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, साथै सडक र हवाई यातायातमा हुन सक्ने असुविधाबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।