३०३
Shares
तस्विर : राजेन्द्र रुपाखेती
काठमाडौँ : अन्तर्राष्ट्रिय योग दिवस आज नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष जुन २१ तारिखका दिन मनाइने यो दिवसले योग अभ्यासको महत्त्व र प्रभावबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा योगलाई सबैका लागि आवश्यक जीवनशैलीका रूपमा प्रस्तुत गर्दै उक्त दिवस घोषणा गर्न प्रस्ताव राखेका थिए।
मोदीको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन जनाएपछि युरोपियन युनियनसहित संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरूले पनि समर्थन गरेका थिए। यो घोषणालाई ९० दिनभित्रै १७७ राष्ट्रले समर्थन जनाउँदै कीर्तिमान कायम गरिएको थियो।
नेपालमा भने योग दिवस मनाउने परम्परा अझै पुरानै रहेको छ। विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण सुरु हुने अवसरमा योग दिवस मनाउन थालिएको थियो। पछि सन् २०१५ मा अन्तर्राष्ट्रिय योग दिवस २१ जुनका दिन मनाउन थालिएपछि, नेपालका योग अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न पहल गरेका थिए।
त्यसकै आधारमा नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस को रूपमा आधिकारिक मान्यता दिएको थियो।
हाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दुवै योग दिवसले स्वास्थ्य, आत्मानुशासन, तथा मानसिक सन्तुलनको सन्देश प्रवाह गर्दै नेपाली समाजमा योगप्रति बढ्दो रुचिलाई थप प्रोत्साहित गर्दै आएको छ।








