४८
Sharesधादिङ : नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहित १ अर्ब २२ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न नगरसभाको १७औं अधिवेशनले सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो।
नगरपालिकाले सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगर निर्माणको योजना अघि सारेको जनाएको छ।
नगर उपप्रमुख दीपक विश्वकर्माले बजेट प्रस्तुत गर्दै संविधानमा उल्लेखित राज्यका निर्देशन सिद्धान्त, संघीय आर्थिक नीति, प्रदेश सरकारको नीति, दिगो विकासका लक्ष्य, नगरवासीको माग, सरोकारवाला र विज्ञको सुझाव तथा वर्तमान परिस्थिति र स्रोतको मूल्याङ्कनका आधारमा बजेट तयार गरिएको जानकारी दिनुभयो।
बजेटअनुसार रु ८७ करोड २७ लाख ५३ हजार चालु खर्चतर्फ र रु ३५ करोड ६५ लाख ५२ हजार पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
“समाजमा न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउने, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेटले सक्षम र समावेशी स्थानीय शासनको आधार तयार गर्ने विश्वास लिएको छ,” उपप्रमुख विश्वकर्माले बताउनुभयो।
नगर प्रमुख भीमप्रसाद ढुंगानाले समावेशी र दिगो विकासका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग प्रत्यक्ष जोडिएका क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।
“यो योजना केवल कागजी दस्तावेज नभई नगरको समृद्धिको स्पष्ट खाका हो,” उहाँले भन्नुभयो।
नगरपालिकाले दीर्घकालीन रणनीतिक योजना, सार्वजनिक–निजी साझेदारी, डिजिटल सेवा विस्तार तथा सुशासन प्रवर्द्धनका कार्यक्रमहरू पनि अघि सारेको छ।