
४७
Shares
धादिङ: धादिङको थाक्रे गाउँपालिकामा पालिकाको आयोजना तथा एकीकृत सामुदायिक विकास अभियान स्थानीय अधिकार कार्यक्रम अन्तर्गत LRP 43 ICDC Nepal को सहकार्य र एक्सन एड नेपाल को आर्थिक सहयोगमा दुई वटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ।



आइतबार थाक्रे गाउँपालिकाको सभा हलमा पर्यावरणमैत्री जैविक (अर्गानिक) खेती रणनीतिसम्बन्धी अभिमुखीकरण तथा परामर्श बैठक र विपद् पोर्टल प्रणाली व्यवस्थापनका लागि घरधुरी तथा समुदायस्तरको तथ्यांक संकलन विधिसम्बन्धी प्राविधिक तथा युवा–स्वयम्सेवक तालिम एकैसाथ सम्पन्न भएको हो।
कार्यक्रमको समापन सत्रमा बोल्दै थाक्रे वडा नम्बर–१ का वडा अध्यक्ष श्यामसुन्दर थापा ले यस्ता कार्यक्रम र छलफलले पालिकालाई समग्र रूपमा फाइदा पुग्ने बताउँदै सबै नागरिकले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै वडा नम्बर–९ का वडा अध्यक्ष श्याम आचार्य ले जैविक कृषिलाई सफल बनाउन सबैले पहिला आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल ले थाक्रे गाउँपालिका अर्गानिक खेतीका लागि उपयुक्त क्षेत्र भएको उल्लेख गर्दै यसलाई नीति बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो। अर्गानिक खेती विस्तार गर्न केही खर्चिलो हुने भएकाले किसान, नागरिक र जनप्रतिनिधि सबै एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा ले पालिकामा पहिल्यै धेरै कृषक समूह गठन भइसकेकाले सबै मिलेर काम गर्न सकेमा अर्गानिक खेतीलाई सहज रूपमा अगाडि बढाउन सकिने बताउनुभयो। साथै केन्द्र सरकारबाट स्पष्ट नीति आए स्थानीय सरकारलाई कार्यान्वयन गर्न थप सजिलो हुने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य ले आफू सधैँ किसानको पक्षमा रहेको बताउँदै पालिका अर्गानिक कृषिका लागि अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले केही स्थानबाट अर्गानिक खेती सुरु भइसकेको उल्लेख गर्दै यस अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष आचार्यले स्थानीय तहलाई सबै अधिकार केन्द्र सरकारले नदिँदा काम गर्न र किसानका समस्या समाधान गर्न कठिनाइ भएको उल्लेख गर्दै अब अर्गानिक कृषिलाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा कृषि तथा पशु शाखाका प्रमुख तथा प्रतिनिधि, अगुवा कृषक, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, कृषक, तथा ICDC Nepal का पदाधिकारीहरू को उल्लेखनीय उपस्थिति रहेको थियो।

छलफलका क्रममा पर्यावरणमैत्री जैविक (अर्गानिक) खेती रणनीति के हो, योजना कसरी बनाउने, स्थानीय स्रोत र सम्भावनाको उपयोग, तथा विपद् व्यवस्थापनका लागि तथ्यांक संकलनको महत्व लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।








