५८२
Sharesधादिङ : थाक्रे गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सुधार गरेका छन्। गाउँपालिकाको शिक्षा शाखाका अनुसार अघिल्लो वर्षको ४३.४० प्रतिशतको तुलनामा यस वर्ष ५६.८५ प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन्।
शिक्षा शाखाले दिएको जानकारीअनुसार यस वर्ष सबैभन्दा उत्कृष्ट नतिजा सेतीदेवी माध्यमिक विद्यालयले ल्याएको छ। सो विद्यालयबाट परीक्षा दिएका २८ मध्ये २५ जना विद्यार्थी उत्तीर्ण भई ८९.२९ प्रतिशत सफलता हासिल गरेका छन्।
त्यस्तै, ब्लुमिङ लोटस इंग्लिस मिडियम विद्यालयले १९ मध्ये १५ विद्यार्थी उत्तीर्ण गराउँदै ७८.९५ प्रतिशत सफलता प्राप्त गरेको छ। त्यसैगरी, जनजागृति माध्यमिक विद्यालयबाट परीक्षा दिएका ८३ मध्ये ६३ जना विद्यार्थी सफल भई ७५.९० प्रतिशत नतिजा ल्याएका छन्।
अन्य विद्यालयहरूको नतिजा हेर्दा ज्योति माविले ६७.४४ प्रतिशत, लाटिदेवी माविले ६४.७१ प्रतिशत, कालिका माविले ६१.७६ प्रतिशत, महाकाली मावि सिम्लेले ६१.४० प्रतिशत, केवलपुर हरिहर भोजकुमारी माविले ५३.८५ प्रतिशत, आदर्श माविले ५२ प्रतिशत, महाकालेश्वरी माविले ४८.४८ प्रतिशत, लिति महाकाल माविले ३५.९० प्रतिशत, लिलाकाली माविले ३५.७१ प्रतिशत, महाकाली मावि तसर्पुले ३३.३३ प्रतिशत र अमर्खु माविले १८.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन्।
गाउँपालिकाको समग्र नतिजामा सुधार आउनु सकारात्मक संकेत भएको शिक्षा शाखाले जनाएको छ। शाखाका अनुसार यो प्रगति विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको साझा प्रयासको परिणाम हो। आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
हेर्नुहोस तालिका