८३
Sharesधादिङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमाथि भइरहेको हमला र प्रहारको डटेर प्रतिकार गरिने स्पष्ट पार्नुभएको छ।
नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन अन्तर्गत प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै पोखरेलले पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन अनेक कोणबाट हमला भइरहेको बताउनु भयो।
“हाम्रो राष्ट्रवादी अडानमाथि प्रहार भइरहेको छ,” पोखरेलले भन्नुभयो, “हामीले डटेर प्रतिकार गरिरहेका छौं। अझै एकतावद्ध भएर प्रतिवाद गर्नुपर्छ।”
उहाँले नेकपा एमाले कुनै वंशानुगत वा जन्मसिद्ध सत्ताको पक्षमा नभई लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेको दल भएको उल्लेख गर्नुभयो। उहाँले भने, “संविधान र कानूनी शासनको पक्षमा उभिएका कारण हामीमाथि हमला भइरहेको हो। एमाले विकास, समृद्धि र सामाजिक सद्भावको पक्षमा दृढ छ।”
कार्यकर्तालाई आ–आफ्ना कमजोरी सुधार्दै पार्टीप्रतिको आस्थामा अझ बलियो भएर जुट्न आह्वान गर्दै पोखरेलले मुलुक समृद्ध बनाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु आवश्यक रहेको बताउनु भयो।
बैठकमा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भूमी प्रसाद त्रिपाठीले संगठन, सदस्यता विस्तार र जिल्लामा अन्य पार्टीहरूको अवस्थाबारे राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, जानुका सिंखडा, सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश सचिव नवराज सिलवाल लगायतले पार्टीको आगामी रणनीति, जनसम्पर्क अभियान र विचारधारात्मक स्पष्टताबारे धारणा राख्नु भयो।
बैठकबाट पार्टी नीति, कार्यक्रमलाई जनमुखी र प्रभावकारी बनाउने प्रस्तावहरू पारित गरिनुका साथै सांगठनिक सुदृढीकरण र वैचारिक स्पष्टता अभिवृद्धिका लागि कार्ययोजना तय गरिएको सचिव राधिका सापकोटाले जानकारी दिनुभयो।
कार्यक्रममा एमालेका पुराना नेताहरुलाई सम्मानसमेत गरिएको थियो।