FLASH NEWS

निर्वाचन आयोगद्वारा आचारसंहिता कडाइका साथ पालना गराउन गृह मन्त्रालयलाई निर्देशन

  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ फागुन १४, बिहिबार (२ दिन अघि)
  • ४१

    Shares

निर्वाचन आयोगद्वारा आचारसंहिता कडाइका साथ पालना गराउन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ :  निर्वाचन आयोगले निर्वाचन अवधिमा निषेध गरिएका कार्यहरू हुन नदिने र कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै यही फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुने निर्वाचन प्रचार–प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गराउन गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिन आग्रह गरेको जनाएको छ। साथै, जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम उल्लंघन गर्नेहरूलाई कारबाही गरिएको विवरण आयोगलाई उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

आयोगले मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ। मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन), कूटनीतिक नियोगका सवारीसाधन र आयोगबाट पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइने उल्लेख गरिएको छ।

यस्तै, मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालन हुने व्यवस्था मिलाइने आयोगले स्पष्ट पारेको छ। टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म र त्यहाँबाट पुनः विमानस्थलसम्म आउजाउ गर्न निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था गरिने जनाइएको छ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ बमोजिम निर्वाचनमा शान्तिसुरक्षा कायम गर्ने सम्बन्धी सम्पूर्ण व्यवस्था मिलाइनेछ। साथै, प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ को दफा ४३ र ८४ अनुसार मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा लिएर मतदान केन्द्रमा जानुपर्ने व्यवस्था गरिएको छ। मतदाता नामावलीमा नाम भएका मतदाताले यीमध्ये कुनै एक कागजातका आधारमा मतदान गर्न पाउनेबारे सुरक्षाकर्मी, कर्मचारी तथा सम्बन्धित निकायलाई सूचना सम्प्रेषण गर्न आयोगले निर्देशन दिएको छ।

त्यस्तै, सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा पास वितरण इकाइ स्थापना गरिनेछ। उक्त इकाइमा आयोगका तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौँका तर्फबाट दुई जना कर्मचारी खटाइने आयोगले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस