
२९
Shares
काठमाडौँ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू हुने आचारसंहिताबारे सम्बन्धित सबै व्यक्ति, समूह र संस्थालाई पुनःस्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक हुनुका साथै उल्लेख्य संख्यामा उजुरी परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ।



आयोगका अनुसार नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुन्छ। साथै, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र तिनका पदाधिकारी, स्थानीय कार्यपालिका र तिनका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू पनि आचारसंहिताको दायरामा पर्छन्।
त्यसैगरी सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा तिनका शिक्षक र कर्मचारीसमेत आचारसंहिताअन्तर्गत पर्छन्। राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन, उम्मेदवार, उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र तथा तिनका पदाधिकारी र कर्मचारीहरू पूर्ण रूपमा आचारसंहिताको दायरामा छन्। साथै, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्था, निजी तथा गैरसरकारी संस्था तथा तिनका पदाधिकारी र कर्मचारीलाई पनि आचारसंहिता लागू हुन्छ।
यसका अतिरिक्त संवैधानिक निकाय, तिनका पदाधिकारी, सुरक्षा निकाय र सुरक्षाकर्मी, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई पनि निर्वाचन आचारसंहिता लागू हुने जनाइएको छ।
मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा तिनका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र तिनका कर्मचारीसमेत आचारसंहिताको दायरामा पर्छन्।
स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले आइतबार आचारसंहिता स्मरण गराएको थियो। सोमबार पुनः सरकारी तथा निजी क्षेत्रमा समेत पूर्ण रूपमा आचारसंहिता लागू हुने भन्दै सचेत गराएको हो।






