FLASH NEWS

निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका ८५ उजुरी

  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ फागुन ११, सोमबार (२ दिन अघि)
  • ३०

    Shares

निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका ८५ उजुरी

काठमाडौँ : निर्वाचन आयोग अन्तर्गतको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ८५ वटा उजुरी प्राप्त भएका छन्। ती उजुरीका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूसँग स्पष्टीकरण मागिएकोमा ५४ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ।

आयोगका कानून अधिकृत मोहनराज जोशीका अनुसार हालसम्म ७९ जनासँग स्पष्टीकरण मागिएको छ भने ६ जनासँग पुनः स्पष्टीकरण माग गरिएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग स्पष्टीकरण मागिएको हो। दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने कारबाहीका लागि प्रेस काउन्सिल नेपाल मार्फत पत्राचार गरिएको छ।

निर्वाचन विश्लेषणको नाममा मत सर्वेक्षण प्रकाशन गरी विशेष दल वा उम्मेदवार निर्वाचित हुने दाबी गरेको समाचार सामग्री प्रकाशित गर्ने सेतोपाटी अनलाइनसँग पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।

जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्राप्त भइरहेका छन् र आवश्यक कारबाही अघि बढाइएको छ। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन र उल्लङ्घनका घटना न्यूनीकरणका लागि प्राप्त उजुरीमाथि जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ। प्राप्त ५४ वटा स्पष्टीकरणको अध्ययन भइरहेको पनि आयोगले स्पष्ट पारेको छ।

आचारसंहिताको प्रभावकारी परिपालनाका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा क्रियाशील रहेको जोशीले जानकारी दिए।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा तथा प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आर्थिक विषयमा आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। छोटो अवधिमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने तथा पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा सञ्चालन भइरहेको आयोगले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस